• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

किन उल्टै मात्र हुन्छ ?

प्रदिप नेपाल

पहिलो गिरफ्तारीको चालीस वर्ष बितेको यस घडीमा पछिल्तिर फर्किएर हेर्न मन लागेको छ । उतिवेला हामी आन्दोलन गर्थ्यौ, राष्ट्रियता र प्रजातन्त्रको पक्षमा । राष्ट्रियता त्यतिवेलाको प्रमुख मुद्दा थियो । सुस्ता पनि हाम्रै हो, महेशपुर पनि हाम्रै हो भन्ने नारालाई हामीले गीतै बनाएका थियौँ । राजाले प्रजातन्त्रको मूल्यमा टिंकरको सिंगो भूखण्ड भारतलाई दानपत्र गरिसकेका छन् भन्ने हामीलाई थाहा थिएन । थाहा भएको भए सुस्ता र महेशपुरसँग राष्ट्रियताको मुद्दामा कालापानी पनि त्यतिवेलै आइपुग्थ्यो ।

०२६ साल साउनको पहिलो गिरफ्तारीपछि पनि सबैथोक बिर्सिएर राजनीतिमा हेलिएला भन्ने लागेको थिएन । तर, परिस्थितिलाई आफ्नो चाहनाअनुसार अघि बढाउन सकिएन । रात कहिल्यै हिरासतमा बिताउनुपरेन । तर ०२६, २७ र २८ सालमा मैले पटक-पटक जिल्ला गएको वेला ठानामा स्पष्टीकरण बुझाउनुपर्‍यो । काठमाडौंमा चाहिँ ०२६ सालको एकपटकबाहेक मैले हिरासतको सास्ती खेप्नुपरेन । त्यतिवेलाको थुनाइ पनि हनुमानढोकामा भएको थिएन । पहिलो वर्षका हामी लाटा विद्यार्थीलाई सगोलमा त्यतिवेलाको महेन्द्र पुलिस क्लबमा लगिएको थियो र आफूले खोजेको कोही नभेटेपछि अघाउँजी गाली-गलौज गरेर छाडिएको थियो । ०३३ सालमा भने पुरानो साउँको चर्को ब्याज लिएजसरी हनुमानढोकाको नरकचोकमा एक महिना बिताउनुपर्‍यो ।

माथिको विवरण पाठकका लागि चासोको विषय नलाग्न सक्छ । मैले पनि औसर मात्रै छोपेको हुँ । ०१० साल पुस महिनाको २७ गते बिहान पाँच बजेतिर मैले पृथ्वी नाम गरिएको यो धर्तीमा पहिलोपटक मुख खोलेर च्याँहाँ गरेको रहेछु । पन्ध्र वर्ष सात महिनाको उमेरमा जान्दै नजानी आरम्भ भएको राजनीतिक यात्राले पनि चालीस वर्ष पाँच महिना पूरा गरेछ ।

आफूले राजनीतिक मैदानमा लामो काल बिताएको हुनाले राष्ट्रप्रति गर्नुपर्ने दायित्व पूरा गर्न मैले कुनै कन्जुस्याइँ गरिनँ भन्ने लाग्छ । ०३३ सालको जेठ महिनादेखि ०४७ सालको जेठ महिनासम्म जोड्दा चौध वर्ष हुँदोरहेछ । त्यो चौध वर्ष मैले सम्पूर्ण समय राजनीतिलाई बुझाएको छु । संगठन बनाउने, प्रशिक्षण कक्षाहरू चलाउने, नीतिगत निर्णयमा सहभागी हुने कामबाहेक मैले एकक्षण पनि आफ्नो परिवार, आफन्तजनका बारेमा सोच्ने समय पाउन सकिनँ । त्यस कालावधिमा पिताजीको मृत्युमा शोक मनाउने समय पनि मसँग बाँकी रहेन ।

०४७ यताको राजनीतिक जीवन भने अपेक्षाकृत हिसाबमा व्यवस्थित रह्यो भन्नुपर्छ । खुला भइयो, परिवारसँग बस्न सकिने भइयो । तर, त्यो व्यवस्थित जीवनमा पनि परिवारका बारेमा सोच्ने फुर्सद लामै समयसम्म पाइएन । पार्टी केन्द्रीय कमिटीको सदस्य मात्रै हुँदा पनि मैले एकैपटक चार/चार विभागको जिम्मा सम्हालेको रहेछु । पछिल्लो समयमा कामरेड झलनाथ खनाल महासचिव मनोनीत भएपछि बल्ल मैले फुर्सदको समय पाएको छु । आठौँ महाधिवेशनपछि त मलाई सक्रिय राजनीतिक जीवनबाट अलग्याउने काममा पार्टी अध्यक्षसहितको समूहले निर्णय गरेको हुनाले मसित लेखपढ गर्ने प्रशस्त समय बचेको छ ।

एउटा व्यक्तिले कति वर्ष सक्रिय राजनीतिक नेतृत्व गरिरहन सक्छ ? बीस वर्ष ? तीस वर्ष ? कि चालीस वर्ष ? अथवा पचास वर्ष ? मुलुकको राजनीतिमा मेरो सहभागिता साठी वर्षको रह्यो भन्न त मीठै लाग्ला । तर, क्रियाशीलताका वर्षहरू कति हुन्छन् ? नेतृत्व क्रियाशील हुँदा मात्र कार्यकर्ता परिचालित हुने हाम्रोजस्तो मुलुकमा युवा उत्तराधिकारीलाई जिम्मेवारी हस्तान्तरण गर्न व्यक्तिले कति वर्षको उमेरसम्म आफूलाई कार्यकारी नेतृत्वमा टिकाएर राख्नुपर्छ ? सही सोच र सक्रियतालाई जीवन्तता दिने हो भने एउटा व्यक्तिले दसदेखि पन्ध्र वर्षसम्म नेतृत्वको कार्यकारी निकायमा रहेर काम गर्नुपर्छ । ठुल्ठूला परिवर्तनको साक्षी बनेको हाम्रो पुस्ताले चालीस वर्षसम्म लगातार नेतृत्व गरिरहेको छ । तर, आउने दिनहरूका लागि त्यो अनुकरणीय उदाहरण बन्नु हुँदैन । बीसको दशकमा राजनीति आरम्भ गर्नेहरूका लागि लोकतान्त्रिक राजनीति भनेको मृत्युको उपहार थियो । कुनै पनि राजनीतिक पार्टीको दस्ताबेज साथमा बोकेर हिँडेको ‘अपराध’ मा पाँच वर्षको जेल सजाय, राजाको निरंकुश सत्ताको विरुद्धमा संगठन बनाउँदा दस वर्ष, सामन्ती निरंकुशताको विरोधमा पर्चा छर्दा चौध वर्ष जेल सजाय पाउने उदाहरण हामीसँग छन् । कम्युनिस्ट र कांग्रेस दुवै समूहका दर्जनौँ मानिस केवल राजनीतिक आस्था राखेका कारण सत्ताद्वारा क्रुरतापूर्वक मारिएका छन् । त्यसैले त्यतिवेलाको राजनीति त्याग र बलिदानको राजनीति थियो । त्यस्तो अवस्थामा कसैले लगातार चालीस वर्ष राजनीतिक सक्रियता देखाउन सक्नु महानताको परिचय हुन्थ्यो ।

यतिवेला राजनीति दुःख होइन सुखको विषय बनेको छ । हामीले जुनवेला राजनीतिमा प्रवेश गरेका थियौँ, त्यतिवेला कसैको मनमा पनि मन्त्री बन्ने सपना थिएन । यतिवेलाको राजनीतिको लक्ष्य सांसद, मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिमा गएर ठोक्किएको छ । पञ्चायती निरंकुशताको कालमा जस्तो नेता र कार्यकर्ताको अकाल पनि यतिवेला देखिएको छैन । यस्तो अवस्थामा पुराना र पाकाहरूले गाडधन छोपेजसरी सधैँभरि नेतृत्वको कुर्ची च्यापेर बसिरहनु हुँदैन ।

नबुझेर होस् वा बुझेर, नेपाली चेतनामा राजनीतिलाई पेसा नै मानिएको छ । पञ्चायती सत्ताविरोधी आन्दोलनमा त्यस्तो हुनु स्वाभाविक पनि थियो होला । तर, खुला परिवेशमा, सभा-संगठनको स्वतन्त्रता पाएको समयमा, अभिव्यक्ति स्वतन्त्रता अकुण्ठित भएको वातावरणमा राजनीतिक दलका नेता-कार्यकर्ताले राजनीतिलाई आप\mनो जीविकाको साधन बनाउनु हुँदैन । राजनीति भनेको नागरिक दायित्व हो र नागरिक भएका कारण जो-कोहीले पनि जीवनको एउटा कालखण्डमा त्यो दायित्व पूरा गर्न राजनीतिमा समाहित हुनुपर्छ । तर, त्यो समायोजन पनि कालावधि तोकिनु राम्रो हुन्छ । यसले समयको निरन्तरता र राजनीतिको निरन्तरता सँगसँगै अगाडि बढिरहन्छन् । यसो गर्न सकिएन भने नेपाली राजनीतिले वर्तमानमा भोग्नुपरिरहेको राजनीतिक अन्तर्विरोध लामो समयसम्म काँधमा हालेर हिँडिरहनुपर्छ ।

अहिलेको काल भनेको नेपाली राजनीतिले एकैचोटि दुईवटा छलाङ मारेको काल हो । पञ्चायती निरंकुशताको समाप्तिले नेपाली राजनीतिमा ठूलै फड्को मारेको थियो भने मकरतन्त्रको समाप्ति गर्दै मुलुकलाई राजतन्त्रबाट गणतन्त्रमा लैजाँदा मुलुकले छलाङ नै मारेको थियो । यति चाँडो-चाँडो राजतन्त्रबाट गणतन्त्रमा फड्को मार्ने आन्दोलनमा सायद नेपाल अपवाद नै होला । राणाकालीन निरंकुशता शाह परिवारको निरंकुशतामा रूपान्तरित भएको थियो ००७ सालमा । राजा त्रिभुवनले जनक्रान्तिको कुनै आदेश पालन गरेनन् । त्रिभुवनपछि राजा भएका महेन्द्र आप\mनो सत्ता र शक्तिका बारेमा चाहिनेभन्दा बढी नै लालची भएर देखापरे । उनको काल चरम निरंकुशताको काल रह्यो भने तेस्रा राजा वीरेन्द्रका पालामा त पञ्चायत झनै निरंकुश भएर देखापर्‍यो । ०४६ सालको जनआन्दोलनले लामो समयदेखि शासन र शोषण गरेको निरंकुशतन्त्रलाई समाप्त पार्‍यो भने त्यसको बीस वर्ष पनि बित्न नपाउँदै नेपाल गणतन्त्र घोषित भयो ।

हामीभन्दा माथिको पुस्तालाई राणाशासनविरोधी आन्दोलनदेखि गणतन्त्र प्राप्तिसम्मको आन्दोलनको नेतृत्व गरेकोमा हामी सबैले सम्मान गर्नुपर्छ । तर, त्यो पंक्ति आउने दिनका लागि पनि नेतृत्व गरिरहने क्षमता राख्दैन भन्ने सत्यलाई पनि हामीले स्वीकार गर्न सक्नुपर्छ । राजनीतिमा लागेर पचास वर्षको उमेर काटेको पुस्ताले आफूलाई लोकतान्त्रिक गणतन्त्रको वास्तविक नेता बनाउन सक्दैन । यस्तो सत्यबोध गरेर नै पचास नाघेको पुस्ताले आफूलाई सम्मानित आसनमा बसाउने र युवाहरूलाई नेतृत्वमा उक्लिन र उनीहरूलाई समस्यासँग पौँठेजोरी खेल्न सिकाउनु नै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउने काममा सहयोग पुर्‍याएको ठहरिनेछ ।

(श्रोत:नयाँ पत्रिका)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: